बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विविए तेश्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा विविए प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेले विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि क्याम्पसले प्रदान गर्ने सेवा सुविधाहरुमा कुनै पनि कसर बाकि नराखि विद्यार्थीको उज्ज्वल भविष्य र सपनालाई साकार पार्न क्याम्पस लागेको बताउनुभयो । क्याम्पसका विभिन्न शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीहरुको सक्रिय सहभागिताले पनि क्याम्पस नमुना क्याम्पसको रुपमा स्थापित हुन सहयोग पुगेकोे बताउदै उहाँले विद्यार्थीहरुलाई स्वागत गर्न विद्यार्थी स्वंय अग्रसर भएर स्वागत कार्यक्रम आयोजना गरेकोमा खुशि प्रकट गर्नुभयो ।
विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले विद्यार्थीहरुको कडा मिहिनेत र लगनशीलताले नै क्याम्पसको उचाई यहासम्म पुगेकाले नवआगन्तुक विद्यार्थीहरु पनि सो पथमा लम्कि क्याम्पसको गरिमा कायम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं विविए कार्यक्रम संयोजक द्वारिका प्रसाद गौतमले  शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो । साथै उहाले क्याम्पसले विद्यार्थीहरुको हरेक श्रृजनशिल गतिविधिलाई साथ दिने भएकोले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यार्थीप्रती धन्यवाद ज्ञापन गर्नुभयो ।
विविए तेश्रो सेमेष्टरकी प्रभा थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्थी विविए प्रथम सेमेष्टरका अस्मिता खनाल र कृति पाण्डेले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा पढ्न पाउनु आफ्नो लागि सुनौलो अवसर रहेको बताउनुभएको थियो । 
विविए तेश्रो सेमेष्टरका विद्यार्थी सन्तोष न्यौपानेको सभापतित्वमा भएको स्वागत कार्यक्रमको सञ्चालन सुदिप घिमिरे र मिरिन्डा भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न खेलकुद गतिविधिमाविजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।