शैक्षिक संस्था उद्योगी/व्यवसायी संवाद : उत्कृष्टताको खोजीवल विषयक अन्तरक्रिया कार्यक्रम बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न सो कार्यक्रममा यस क्षेत्रका २० भन्दा बढी उद्योगी व्यवसायी तथा प्राज्ञिक व्यक्तित्वहरुको  सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले उद्योग तथा व्यवसायहरुमा क्याम्पसबाट उत्पादित जनशक्तिको संलग्नता एवं अवसरहरुको प्राप्तिका लागि शैक्षिक संस्थाहरु र उद्योगी तथा व्यवसायीहरुबीच समन्वयात्मक एवं सहकार्यगत भूमिका कस्तो रहनुपर्छ सो सम्बन्धमा बृहत छलफल र संवादबाट निष्कर्षमा पुग्न सकिने भएकोले अन्तरक्रियात्मक संवाद कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता तथा सहप्राध्यापक भरत भुसालको संचालन रहेको अन्तरक्रियात्मक संवाद कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरुको तर्फबाट प्यानलिष्टमा सहभागी प्रदेश योजना आयोग, लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतमले वर्तमान परिप्रेक्षमा विद्यार्थीहरुलाई कक्षाकोठामा मात्र सिमित गरी सैद्धान्तिक ज्ञान मात्र प्रदान गर्ने भन्दा पनि प्रयोगात्मक शिक्षालाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रमहरु तयार गर्न सकियो भने विद्यार्थीहरुमा उद्योगी, व्यवसायी प्रति रुचि बढ्ने र रोजगारको बजारमा सजिलै प्रबेश गर्न सकिने कुरामा जोड दिनुभयो । त्यसैगरी, प्राज्ञिक व्यक्तित्व लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले वर्तमान शिक्षा पद्धतिमा धेरै कुराहरु सुधार गर्नुपर्ने देखिएकोले समय सापेक्षका पाठ्यक्रमहरु लागु गरी विद्यार्थीहरुलाई आधुनिक उद्योगी, व्यवसायी बन्नका लागि बौद्ध दर्शनबाट पनि धेरै कुराहरु सिक्न सकिने कुरा बताउनुभयो । उहाँले अबका पाठ्यक्रमहरु निर्माणमा उद्योग तथा व्यवसायीहरुसँग बृहत छलफल गरी तयार गर्न सकियो भने मात्र अबको शिक्षा जीवनपयोगी हुन सक्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बरिष्ठ वन तथा वातावरण विद् तथा लुम्बिनी बौद्ध विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट स्टडिज् एण्ड अप्लाईड साइन्सेज्का डीन,  उकेशराज भूजुले नेपालमा अब विद्यार्थीहरुलाई उद्यमी बन्न पे्ररित गर्नुपर्ने र देशमा उपलब्ध कच्चा पदार्थहरुको प्रयोगबाट विभिन्न किसिमका स्वदेशी वस्तुहरुको उत्पादन गर्न सकियो भने देशको अर्थतन्त्रमा ठूलो टेवा पुगी आत्मनिर्भर बन्न सक्ने कुरा विद्यार्थीहरुलाई बुझाउनुपर्ने बताउनुभयो । त्यसैगरी उद्योगी तथा व्यवसायीहरुको तर्फबाट प्यानलिष्टमा सहभागी हुदै उद्योग वाणिज्य महासंघ, पूर्व केन्द्रीय सदस्य, एवं बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले ठीक व्यक्ति ठीक ठाउँमा भन्ने सिद्धान्त आजको अनिवार्य आवश्यकता भएको हुँदा अबका विद्यार्थीहरुलाई बजारको आवश्यकता अनुसार शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । यसैगरी, नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेशका संयोजक एजाज आलमले क्याम्पसले पठनपाठन गराउने पाठ्यक्रम र उद्योग तथा व्यवसायमा प्रयोग हुने ज्ञानका बीचमा धेरै नै खाडल रहेको हुँदा सो खाडललाई परिपूर्ति गर्ने खालका पाठ्यक्रमहरु निर्माण गरी पठनपाठन गर्नुपर्ने र त्यसको साथै विद्यार्थीहरुलाई नैतिक शिक्षामा पनि जोड दिनुपर्ने देखिएको बताउनुभयो । संवादमा सहभागी हुनुभएका नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, लुम्बिनी प्रदेश महासचिव खिम नारायण पराजुलीले अबको २१ औं शताब्दीको शिक्षा प्रयोगात्मक शिक्षा, व्यवसायिक शिक्षा र जीवनपयोगी शिक्षा हुनपर्ने र समाजलाई सकारात्मक रुपान्तरणमा तर्फ डोर्याउने खालको हुनपर्ने कुरामा जोड दिनुभयो ।

खुल्ला संवाद सत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका संयोजक डा. सञ्जिव हुमागाईं, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, बुटवल उद्योग वाणिज्य संघका का.स.स.सुरज भट्टराई, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी , उद्योग व्यापार संघ बुटवलका अध्यक्ष प्रविण पाठक, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भूसाल, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्य, उद्योग व्यापार संगठन, रुपन्देहीका महासचिव अनिल ज्ञवाली लगायतले आफ्ना विचारहरु राख्नु भएको थियो । 
कार्यक्रम अवधिभरमा संवादमा सहभागीहरुबाट व्यक्त भएका विचारहरुको टिप्पणी र्यापोर्टियर उपप्राध्यापकद्वय रोमनाथ शर्मा र पिताम्बर सापकोटाले तयार गर्नुभएको थियो भने सो प्रतिवेदन प्रस्तुत उपप्राध्यापक शर्माले गर्नुभएको थियो । सो संवाद कार्यक्रमले समय सापेक्ष पाठ्यक्रमहरु निर्माण गरी उत्पादित दक्ष जनशक्तिलाई सजिलै रोजगार बजारका अवसरहरु प्राप्त गर्न, उद्योगी तथा व्यवसायी बन्न प्ररित गर्नका लागि शैक्षिक संस्था तथा उद्योगी र व्यवसायीहरु बीच आगामी दिनहरुमा पनि नियमित संवाद गरिरहनुपर्ने निश्कर्ष निकालेको थियो ।