आषाढ २७ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पसमा संचालित विभिन्न कार्यक्रम तथा तहहरुमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुसंग चरणबद्ध रुपमा भेला तथा अन्तरक्रिया गर्ने क्याम्पसको नियमित कार्यक्रम अन्तर्गत दोस्रो  चरणमा सेमेस्टर प्रणालीमा आधारित बि.बि.एम.-अप्लाइड कार्यक्रमको तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेला आयोजना गरिएको हो । शिक्षक अभिभावक संघ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, सचिव डिल्लीराज गौतमको स्वागत मन्तव्य, बि.बि.एम. कार्यक्रम इन्चार्ज मधुकर शर्माको संचालन रहेको भेलामा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो। 

४० बढी अभिभावकहरुको सहभागिता रहेको भेलामा  अभिभावक यम बहादुर राना मगर, मैना सुवेदी, जीवन कुमारी बेलबासे लगायतले बोल्दै  क्याम्पसले संचालन गरेको गतिविधि संतोषजनक रहेको, तालीम तथा अतिरिक्त क्रियाकलाप थप गर्नुपर्ने, स्वरोजगारका लागि थप व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने लगायतको सुझाव दिनुभएको कार्यक्रम इन्चार्ज शर्माले जानकारी दिनुभयो।

भेलामा उठेका जिज्ञासा तथा प्रश्नहरु बारे प्रकाश पार्दै क्याम्पस प्रमुख प्राध्यापक डा. तारा प्रसाद उपाध्यायले क्याम्पस प्रशासनले विद्यार्थीको सिकाईको चाहना, अभिभावकको रचनात्मक सुझावको अपेक्षा सधै गर्ने बताउनुभयो साथै उहाले क्याम्पसले शैक्षिक उन्नयनका लागि यसप्रकारको अन्तरक्रिया कार्यक्रम नियमित गर्ने गरेको बताउदै क्याम्पसको थप शैक्षिक तथा भौतिक विकासका लागि आएका सुझावहरु कार्यान्वयन गरिने जानकारी समेत दिनुभयो ।