जेष्ठ ५ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा शुक्रबार एक कार्यक्रमकाबिच प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्यमशीलता विकास सहयोग कार्यक्रमको शुभारम्भ भएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कसजुले पछिल्लो समयमा शिक्षण संस्थाहरुमा उद्यमशीलताको बहस हुन थाल्नु सुखद पक्ष रहेको बताउदै यस प्रकारको अभ्यासले उद्यमशीलता मार्फत दीर्घकालिन रुपमा राष्ट्र र समाजलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो साथै उहाँले देश विकासमा उद्यमशीलताको विकास अपरिहार्य रहेकोले उद्यमशील बन्नका लागि सरोकारवाला सबैले प्रेरित गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन सत्रको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्याय, नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, उद्यम विकास विशेषज्ञ मुकुन्द ज्ञवाली, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समितिका अध्यक्ष धन बहादुर पुन, आइ.क्यु.ए.सी. संयोजक पुनाराम घिमिरे, कर्मचारी संघ इकाई समितिका अध्यक्ष राधा पन्थ सुवेदी लगायतले उद्यमशीलताका बारेमा बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन काउन्सिलिङ एण्ड प्लेसमेन्ट सेल, लुम्बिनी वाणिज्य क्याम्पसका संयोजक डिल्लीराज गौतमले गर्नुभएको थियो ।
उद्घाटन सत्र पश्चात् विद्यार्थी तथा प्राध्यापक कर्मचारीका लागि उद्यमशीलता विकास सम्बन्धी छुट्टाछुट्टै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उद्यमशील बन्नका लागि आवश्यक पर्ने सीपहरु तथा तिनको समसामयिक प्रयोगका बारेमा अन्तरप्रेरणा नेपालका कार्यकारी निर्देशक निरज खनाल र कार्यक्रम प्रबन्धक श्रद्धा शाक्यले सहजिकरण गर्नुभएको थियो ।
यस कार्यक्रमबाट प्राज्ञिक तथा व्यवसायिक क्षेत्रका विज्ञमार्फत उद्यमी बन्न चाहने विद्यार्र्थीहरुले व्यवहारिकरुपमै व्यवसायिक ज्ञान प्राप्त गर्नेछन् भने उनिहरुलाई आवश्यक पर्ने प्रारम्भिक लगानि पनि विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा लुम्बिनी वाणिज्य क्याम्पसले प्रदान गर्ने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले बताउनुभयो । फरक सोचका साथ यस प्रकारको कार्यक्रम शुभारम्भ गरिएको र यसमा विद्यार्थीहरुको चासो र चिन्तन सोही अनुसार रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।