वाणिज्य क्याम्पसमा सहायक क्याम्पस प्रमुखको पदस्थापना
बुटवल , ११ माघ ।
लुम्बिनी वाणिज्य क्याम्पसले सहायक क्याम्पस प्रमुखमा उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मीलाई नियुक्त गर्दै बिहीवार पदस्थापन गरेको छ ।क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले नियुक्ति पत्र, टिओआर प्रदान गर्दै र निवर्तमान सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीले खादा, पुष्प गुच्छा सहित सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा पदस्थापन गराउनुभएको हो।
पदस्थापन कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै क्याम्पस प्रमुख प्रा. डा. उपाध्यायले नवनियुक्त सहायक क्याम्पस प्रमुखले प्रशासनिक र प्राज्ञिक उन्नयनमा थप रचनात्मक भुमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो साथै उहाँले निवर्तमान सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीलाई ५ वर्षे सफल कार्यकालका लागि धन्यवाद ज्ञापन समेत गर्नुभयो।
पदभार ग्रहण गर्दै नवनियुक्त सहायक क्याम्पस प्रमुख चौधरीले आफ्नो लागि क्याम्पसको चौतर्फी विकास एक मात्र सपना रहेको बताउदै  क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधि थप उच्च बनाउनका लागि आफ्नो सक्रियता र भूमिकालाई फरक किसिमले प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो। 
कार्यक्रममा बोल्दै निवर्तमान सहायक क्याम्पस प्रमुख जोशीले आफ्नो कार्यकाल सबैको साथ सहयोगले गर्दा नै सहजरूपमा सम्पन्न भएको बताउनुभयो।
क्याम्पस सञ्चालक समितिको यही पौष २९ गते बसेको बैठकको निर्णय अनुसार चौधरीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । क्याम्पस प्रमुख प्रा. डा. उपाध्यायको अध्यक्षता,  स्याट संयोजक पुनाराम घिमिरेको संचालन रहेको कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख जोशीलाई कदरपत्रले सम्मान समेत गरिएको  थियो।