माघ १८ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवल ११ देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा "विश्वविद्यालय प्राज्ञिक स्वायत्तता र भावी कार्यदिशा" विषयक अन्तरक्रियात्मक कार्यक्रम बिहीवार सम्पन्न भएको छ।विश्वविद्यालयमा भएका प्राज्ञिक स्वायत्तताका व्यवस्थाहरु, नेपालमा संचालित स्वायत्त कार्यक्रमहरु र यसको भावी  कार्यदिशाबारे छलफल भएको उक्त कार्यक्रमको आयोजना लुम्बिनी वाणिज्य क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियन, लुम्बिनी वाणिज्य क्याम्पसले संयुक्त रुपमा गरेको हो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयका निर्देशक प्रा.डा. ध्रुव कुमार गौतम र लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख  प्रा.डा. ताराप्रसाद उपाध्याय प्यानलिस्टको रुपमा सहभागी हुनुभएको थियो भने पत्रकार दिनेश पाण्डेले मोडेरेटरको भुमिका निर्वाह गर्नुभएको थियो। स्वतन्त्र विद्यार्थी युनियनको सभाहलमा संचालन भएको कार्यक्रमको संचालन स्ववियु सचिव निराजन खरेलले गर्नुभएको थियो भने कार्यक्रममा विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी, संचालक समिति, भुपु विद्यार्थी, स्ववियु सभापतिहरु, विद्यार्थी नेताहरु, राजनैतिक व्यक्तित्व, शैक्षिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, संचारकर्मी लगायतको सहभागीता रहेको थियो।

लुम्बिनी टेलिभिजन तथा विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण भएको उक्त  कार्यक्रम करिब २ घण्टा ३० मिनेटसम्म चलेको थियो।